आज देशभर प्रतिनिधिसभा निर्वाचन, बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान
Author
NEPSE TRADING

जेनजी आन्दोलनपछिको विशेष राजनीतिक परिस्थितिमा आज देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि यो प्रतिनिधिसभाको तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो।
यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भइरहेको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन्। यसअन्तर्गत ३,०१७ पुरुष, ३८८ महिला र १ अन्य गरी कुल ३,४०६ उम्मेदवार मैदानमा रहेका छन्। समानुपातिकतर्फ भने १,३६३ पुरुष र १,७७२ महिला गरी कुल ३,१३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगका अनुसार यसपटक देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका छन्। साथै १ लाख ८६ हजार १४२ अस्थायी मतदाताले पनि मतदान गर्ने व्यवस्था गरिएको छ।
देशभर १०,९६७ मतदानस्थलमा २३,११२ मतदान केन्द्र स्थापना गरिएको छ भने १४३ अस्थायी मतदानस्थलसमेत निर्धारण गरिएको छ। मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई प्राथमिकता दिने व्यवस्था गरिएको आयोगले जनाएको छ।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी, १,९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी खटिएका छन्। यसका साथै निर्वाचन सञ्चालनका लागि करिब २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको छ।
निर्वाचनको पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न चार अन्तर्राष्ट्रिय तथा ३९ राष्ट्रिय संस्थाका पर्यवेक्षकहरू परिचालन भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरेका छन्।



