बुङ्गल हाइड्रोको आयोजना प्रभावित क्षेत्रका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Author
NEPSE TRADING

बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमाथि लक्षित गर्दै असार २९ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (साउन २६ गते) अन्तिम दिन हो। कम्पनीले ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरका प्रतिकित्ता १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको हो।
छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्रका बासिन्दा (सुदूर पश्चिम प्रदेश, बझाङ जिल्ला, बुङ्गल नगरपालिका वडा नं. ६ का साविक पिपलकोट र कफल्सेरी गाविसका तोकिएका वडा) का लागि र बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्रका (बझाङ जिल्लाका अन्य तोकिएका वडाहरू) लागि वितरण गरिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
केयररेटिङ नेपालले यस आईपीओलाई ‘CARE-NP Single B Issuer Rating’ प्रदान गरेकोछ, जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ। कम्पनीले सञ्चालन गरेको १०.७० मेगावाटको माथिल्लो सानिगाडजलविद्युत आयोजनाको लागत ३ अर्ब २ करोड रुपैयाँ भन्दा बढी छ, प्रतिमेगावाट लागत करिब २८ करोड २५ लाख रुपैयाँ परेकोछ।विद्युत अनुमतिपत्रमा २६ वर्ष १० महिना बाँकी छ भने साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष र डिस्काउन्टमा २२.२९ वर्ष रहेकोछ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड हो, र आवेदन नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक लगायतका तोकिएका स्थानबाट दिन सकिनेछ।



