सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन आज अन्तिम दिन
Author
NEPSE TRADING

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने आज (पुस १४ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले पुस ९ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो। कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत बराबर १३ लाख ७९ हजार ३५० कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएकोमा, सोहीमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ६८ हजार ९६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई CARE-NP BB- (Issuer Rating) प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २१ करोड ५३ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत अनुमतिपत्रको अवधि २६ वर्ष बाँकी रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ७.७१ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक Kumari Capital Limited रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा CDS and Clearing Limited द्वारा सञ्चालित ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।



