एसवाई प्यानलको आईपीओ भदौ २९ गतेदेखि खुल्ने
Author
NEPSE TRADING

एसवाई प्यानल लिमिटेडले यही भदौ २९ गतेदेखि साधारण शेयर (IPO) निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर निष्कासन गर्नेछ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति दिएको हो। सो मध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २ लाख ६१ हजार ६२७ कित्ता उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको छ भने १० प्रतिशत अर्थात ४ लाख ९७ हजार ०९२ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।
उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि समान सीमा भित्र आवेदन दिन सक्नेछन्। उद्योग प्रभावित क्षेत्रका लागि आईपीओ बन्द छिटोमा असोज १२ गते र ढिलोमा असोज २७ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असोज १ गतेदेखि अधिकतम असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ।
आवेदन उद्योग प्रभावित क्षेत्रका बासिन्दाले कम्पनीको रत्ननगर चितवनस्थित कार्यालय, प्रभु क्यापिटलको कमलादी, प्रभु क्यापिटलको अनलाइन पोर्टल र प्रभु बैंकका सौराहा तथा टाँडी शाखाबाट दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा र मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। पहिलो चरणअन्तर्गत उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि दोस्रो चरणमा आम सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर निष्कासन गरिनेछ।



