रिभर फल्स पावरको हकप्रद शेयरमा आवेदन अवधि असोज २६ सम्म थप
Author
NEPSE TRADING

रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले जानकारी गराएअनुसार अब यस हकप्रदमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर एक कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले प्रति शेयर रु १०० अंकित मूल्यका ७० लाख कित्ता, अर्थात ७० करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरिरहेको छ।
हकप्रद प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलसँगै प्रभु बैंकका बेशिसहर (लमजुङ), पोखरा, वीरगञ्ज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमार्फत पनि आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत, तथा मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।
हकप्रद शेयरमार्फत संकलन हुने रकम कम्पनीले डाउन पिलुवा खोलामा आएको विनाशकारी बाढी लगायत अनियन्त्रित कारणले आयोजनाको लागत वृद्धि भई थपिएको बैंक ऋण भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ।



