रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गर्यो, आवेदन प्रक्रिया शुरु
Author
NEPSE TRADING

काठमाडौँ, पुस १३ – रेज लाइन इनर्जी लिमिटेडले आजदेखि (पुस १३) पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आईपीओ निष्कासन गरेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत कुल २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ। जारी पुँजीको १० प्रतिशत, अर्थात् ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ।
आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले गोरखा जिल्लाको अजिरकोट गाउँपालिका, लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर १, २ र ३ तथा दोर्दी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का स्थानीय बासिन्दालाई सेयर निष्कासन गरेको छ। यस समूहका स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस समूहका लागि आईपीओ पुस २८ गतेदेखि माघ १२ गतेसम्म खुला रहनेछ।
त्यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १ लाख ४२ हजार २०० कित्ता साधारण सेयर निष्कासन गरेको छ। यस समूहका लगानीकर्ताले पनि न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ पुस १७ गतेसम्म खुला रहनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले गोरखा स्थित कम्पनीको कार्यालय, प्रभु क्यापिटलको कमलादी कार्यालय, कम्पनीले उपलब्ध गराएको अनलाइन लिंक, प्रभु बैंकको छेपेटार शाखा (गोरखा) र पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा 'मेरो सेयर' अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयरको बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ। सर्वसाधारणका लागि छुट्याइएका सेयरमध्ये २ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी सेयर सार्वजनिक निष्कासन गरिनेछ।
कम्पनीको आईपीओ निष्कासन र बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालेको छ।
रेज लाइन इनर्जी लिमिटेडले गोरखा र लमजुङ जिल्लामा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० माघदेखि व्यावसायिक उत्पादन शुरु गरेको छ। यसका साथै, कम्पनीले ११ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ।
सुपर चेपे जलविद्युत आयोजना कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ भएको र प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ पर्न गएको छ। यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै ३० वर्ष ११ महिना बाँकी रहेको छ। आयोजनामा गरिएको साधारण लगानी ७ वर्ष ४ महिनामा फिर्ता हुने अनुमान गरिएको छ भने डिस्काउण्ट आधारमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ।
कम्पनीका अध्यक्ष डा. बसन्त गिरी हुन्, जबकि संचालक समितिमा प्रदीप राज गिरी, नारायण कँडेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी र अशोक कुमार खड्का रहेका छन्। डा. विनोद पोखरेल स्वतन्त्र संचालकका रूपमा रहेका छन्। कम्पनीमा सोपान मल्टिपल र मुक्तिनाथ क्यापिटलको समेत उल्लेख्य लगानी रहेको छ।


