एनआरएन इन्फ्रास्ट्रक्चरले कुमारी बैंक र मेरो माइक्रोफाइनान्सका ६ लाखभन्दा बढी सेयर बिक्री गर्ने
Author
NEPSE TRADING

एनआरएन इन्फ्रास्ट्रक्चरले आफ्नै स्वामित्वमा रहेको कुमारी बैंक र मेरो माइक्रोफाइनान्सका ६ लाखभन्दा बढी सेयर बिक्री गर्ने भएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले उक्त दुई वित्तीय संस्थाका संस्थापक सेयरको बिक्री प्रक्रिया शुरू गरेको जानकारी दिएको हो।
कम्पनीका अनुसार कुमारी बैंकका ५ लाख ३० हजार कित्ता तथा मेरो माइक्रोफाइनान्सका ७८ हजार २०९ कित्ता सेयर बिक्रीका लागि राखिएका छन्। सेयर बिक्रीका लागि पहिलो चरणमा सम्बन्धित संस्थाहरूका संस्थापक सेयरधनीलाई ३५ दिने सूचना जारी गरिएको कम्पनीले जनाएको छ।
इच्छुक संस्थापक सेयरधनीले तोकिएको समयसीमा भित्र कुमारी बैंकको सेयर खरिदका लागि टंगालस्थित बैंकको प्रधान कार्यालयमा, तथा मेरो माइक्रोफाइनान्सका सेयर खरिदका लागि सीतापाइलास्थित संस्थाको सम्पर्क कार्यालयमा निवेदन दिनुपर्ने कम्पनीले स्पष्ट पारेको छ।
एनआरएन इन्फ्रास्ट्रक्चरले सेयर बिक्रीबारे थप जानकारी आवश्यक परेमा सम्बन्धित कार्यालयहरूमार्फत समन्वय गर्न सकिने जनाएको छ।



