नेप्से परिसूचकमा लामिछाने र बालेनको सम्झौतासँगै उल्लेखनीय वृद्धि
Author
NEPSE TRADING

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको अन्तिम दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको बजार यस दिन भने उच्च अंक बढेर बन्द भएको हो।
यस दिन राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बीच सम्झौता भएसँगै बजार बढेको जानकारहरु बताउँछन्। लामिछाने र शाह बीच लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति नै रहने र आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा बालेन शाहलाई संसदीय दलको नेताको रुपमा अघि सारिने सम्झौता भएकोले त्यसको सकारात्मक प्रभाव यस दिनको बजारमा परेको जानकारहरुको भनाइ छ। राजनीतिक अन्योल र अस्थिरताका कारण सुस्त रहेको बजार, सरकारले तोकेको समयमा नै निर्वाचन हुने छनक पाएसँगै यस दिन बढेको विश्लेषण भइरहेको छ।
आइतबार नेप्से परिसूचक ४७.५५ अंक बढेर २६३३.४२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ३ अर्ब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकका ८९ हजार २५१ पटकको कारोबारमा ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँबराबरको १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.४९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन मञ्जुश्री फाइनान्सको करिब साढे २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सिनर्जी पावर डेभलपमेन्टको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।


