नेप्सेमा आशा लघुवित्तको ९.५% बोनस सेयर समायोजन, नयाँ मूल्य रु. १,०९०.४१ कायम
Author
NEPSE TRADING

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) को सेयरमूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुकक्लोज गरेपछि नेप्सेले बोनस सेयर समायोजनसहित नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेका अनुसार लघुवित्तको ९.५ प्रतिशत बोनस सेयर समायोजन गरिएको छ। समायोजनपछि सेयरमूल्य रु. १,०९० रुपैयाँ ४१ पैसा कायम भएको छ। आइतबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर समायोजन गरिएको हो। आइतबार दोस्रो बजारमा लघुवित्तको सेयर रु. १,१९४ मा अन्तिम कारोबार भएको थियो।
यस समायोजित मूल्यलाई आधार बनाएर आजदेखि दोस्रो बजारमा लघुवित्तको कारोबार खुल्नेछ।
आशा लघुवित्तले पुस ४ गते, शुक्रबार, काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल अरनिको प्रा.लि. मा साधारण सभा बोलाएको छ। सभा दिउँसो २ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, अन्य लघुवित्तसँग मर्जर/एक्विजिशन सम्बन्धी प्रक्रिया अघि बढाउन र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।



