·

राष्ट्र बैंकको कारबाही : कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई सचेत

Author

NEPSE trading

राष्ट्र बैंकको कारबाही : कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई  सचेत

काठमाडौं । नियम विपरीत गतिविधि गरेको आरोपमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ। कारबाहीमा परेका बैंकहरूमा कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेड रहेका छन्।

राष्ट्र बैंकका अनुसार, कुमारी बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत कालोसूचीमा रहेका व्यक्ति तथा संस्थासँग बैंकिङ कारोबार गरेको पाइएको हो। राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनअनुसार, कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले फुकुवा नहुँदासम्म आफ्नो खातामा रकम जम्मा गर्न बाहेक अन्य कुनै पनि प्रकारको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ। तर, उक्त निर्देशनको उल्लंघन गरेकाले कुमारी बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(क) अनुसार सचेत गराइएको छ।

त्यस्तै, प्राइम कमर्सियल बैंकले पनि राष्ट्र बैंकको निर्देशन अनुसार कर्जाको वर्गीकरण तथा नोक्सानी व्यवस्था गर्न नसकेको पाइएको छ। निरीक्षणका क्रममा केही कर्जालाई भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरिएको, केहीमा कर्जा नोक्सानी व्यवस्था कायम नगरिएको, र जोखिम भार गणना गर्दा क्यापिटल एडेक्वेसी फ्रेमवर्क, २०१५ को मापदण्ड पालना नभएको पाइएको राष्ट्र बैंकले जनाएको छ।

उक्त कारणले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) बमोजिम सचेत गराइएको छ।

राष्ट्र बैंकले नियामक नियमहरूको कडाइका साथ पालना गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ र भविष्यमा यस्ता उल्लंघन दोहोरिए कडा कारबाही हुने चेतावनी समेत दिएको छ।

Related News