बीमा आम्दानी बढेपनि नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ४३.९१% ले घट्यो
Author
NEPSE TRADING

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (NMIC) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बीमा शुल्क तथा कुल आम्दानी दोब्बरभन्दा बढी बढेपनि, उच्च दाबी भुक्तानी र खर्च वृद्धिका कारण कम्पनीको नाफा उल्लेख्य रूपमा घटेको छ ।
आम्दानीमा वृद्धि, नाफामा गिरावट
असार मसान्त २०८२ सम्ममा कम्पनीले १६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २९ लाख ५४ हजार रुपैयाँको तुलनामा ४३.९१ प्रतिशत कम हो । समीक्षा अवधिमा खुद आर्जित बीमाशुल्क (Net Earned Premium) ३१०.३६ प्रतिशत बढेर १ करोड ८ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी १०३.१३ प्रतिशत बढेर १४ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
दाबी भुक्तानी र खर्चमा तीव्र वृद्धि
कुल दाबी भुक्तानी ३७७.०१ प्रतिशत बढेर २ करोड ७५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५७ लाख ७१ हजार रुपैयाँ मात्र थियो । त्यसैगरी, कुल खर्च ११०.२५ प्रतिशत बढेर १४ करोड १८ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा ठूलो दबाब पारेको छ । बीमा शुल्कको वृद्धि हुँदाहुँदै पनि बढ्दो दाबी र सञ्चालन खर्चका कारण आम्दानीको वृद्धि नाफामा रूपान्तरण हुन सकेको छैन ।
प्रति सेयर आम्दानी र वित्तीय स्थिति
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ३४ पैसाले घटेर २२ पैसामा सीमित भएको छ, जुन अघिल्लो वर्ष ५६ पैसा थियो । प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ८६ पैसा रहेको छ ।
पूँजी संरचना र जगेडा
कम्पनीको चुक्ता पूँजी ४२.८६ प्रतिशत बढेर ७५ करोड रुपैयाँ पुगेको छ । विशेष जगेडा १,०९२.८२ प्रतिशत बढेर ४३ लाख १८ हजार रुपैयाँ पुगेको छ भने महाविपत्ति कोष ८६.०९ प्रतिशत घटेर ४ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । रिटेन्ड अर्निङ्ग ५७ लाख रुपैयाँ ऋणात्मकमा पुगेको छ, जुन अघिल्लो वर्ष ३६ लाख ५७ हजार रुपैयाँ सकारात्मकमा थियो । अन्य इक्विटी पनि ९३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सको २०८१/८२ को नतिजाले व्यवसायिक परिमाण र बीमा शुल्क संकलनमा ठूलाे वृद्धि देखाएपनि, उच्च दाबी भुक्तानी र खर्चले नाफामा प्रत्यक्ष असर पारेको स्पष्ट हुन्छ । पूँजी वृद्धि र विशेष जगेडामा भएको सुधारले कम्पनीको वित्तीय आधार बलियो देखाएपनि, ऋणात्मक रिटेन्ड अर्निङ्ग र अन्य इक्विटीले वित्तीय दवाव कायम रहेको देखाउँछ । आगामी वर्षमा नाफा सुधारका लागि दाबी व्यवस्थापनमा सुधार, खर्च नियन्त्रण, र जोखिम मूल्याङ्कनमा कडाइ आवश्यक देखिन्छ ।



