·

निरन्तर ओरालो लाग्दै कर्जाको ब्याजदर, २८ महिनामै ५.१८ प्रतिशतले गिरावट

Author

NEPSE TRADING

निरन्तर ओरालो लाग्दै कर्जाको ब्याजदर, २८ महिनामै ५.१८ प्रतिशतले गिरावट

बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय निक्षेपको ब्याजदरसँगै कर्जाको ब्याजदर पनि लगातार घटाइरहेका छन्। राष्ट्र बैंकका तथ्यांकअनुसार २०७९ फागुनदेखि हालसम्म २८ महिनाको अवधिमा कर्जाको भारित औसत ब्याजदर ५.१८ प्रतिशत विन्दुले घटेर ७.८५ प्रतिशतमा झरेको छ।

२०७८ असारमा कर्जाको भारित औसत ब्याजदर ८.४३ प्रतिशत रहेकोमा २०७९ फागुनमा यो १३.०३ प्रतिशतसम्म पुगेको थियो। त्यसयता लगातार गिरावट आइरहेको कर्जाको ब्याजदर गत असार मसान्तसम्म आइपुग्दा ८ प्रतिशतभन्दा तल झरेको छ। गत वर्षको असारमा कर्जाको ब्याजदर ९.९३ प्रतिशत थियो।

अर्थतन्त्रमा शिथिलता, कर्जाको माग कमजोर

आन्तरिक अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग बढ्न सकेको छैन। ब्याजदर सस्तो भए पनि कर्जा प्रवाह अपेक्षाअनुसार हुन नसकेको देखिन्छ। रेमिट्यान्स आप्रवाहमा सुधार आएपछि निक्षेप बढेको तर लगानी नभएकाले बैंकिङ प्रणालीमा अत्यधिक तरलता पैदा भएको छ।

आधार दर र प्रिमियम घटेपछि कर्जा अझ सस्तो

हाल वाणिज्य बैंकहरूको औसत आधार दर ५.९८ प्रतिशतमा झरेको छ। गत वर्ष यो ८ प्रतिशत थियो। तरलता उच्च रहेकाले बैंकहरूले प्रिमियम दर पनि घटाएका छन्। यसअघि ५ प्रतिशतसम्म प्रिमियम थप्ने बैंकहरूले हाल १ देखि १.५ प्रतिशतसम्म मात्र प्रिमियम थपेर कर्जा दिन थालेका छन्। विभिन्न कर्जामा ब्याजदर उल्लेख्य मात्रामा घटेको छ।

  • ओभरड्राफ्ट कर्जा: ११.३३% बाट घटेर ८.६२%

  • विपन्न वर्ग कर्जा: ९.१५% बाट घटेर ६.८४%

  • आवासीय कर्जा: १०.२८% बाट घटेर ८.२४%

  • रियल स्टेट कर्जा: ८.२५%

  • शेयर धितो कर्जा: १०.५०% बाट घटेर ७.८६%

  • हायर पर्चेज कर्जा: ८.३९%

  • क्यास क्रेडिट कर्जा: ७.९०%

  • बिल खरिद कर्जा: ७.५५%

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदर करिडोर लचिलो बनाएको छ।

  • बैंक दर: ६.५% बाट घटाएर ६%

  • निक्षेप संकलन दर: ३% बाट घटाएर २.७५%

  • नीतिगत दर: ५% बाट घटाएर ४.५%

यसले बजारमा मुद्रा आपूर्ति बढाउने र ब्याजदर अझै ओरालो लाग्ने अनुमान गरिएको छ।

Related News