नेप्सेमा पूँजीबजार सुधारको ज्ञापनपत्र: १५ मिनेटको औसत भार विधि पारदर्शी नभएको गुनासो
Author
NEPSE trading

नेपाल स्टक एक्सचेन्ज (नेप्से) समक्ष पूँजीबजार सुधारका लागि लगानीकर्ताहरुको समूहले ज्ञापनपत्र बुझाएका छन्। लगानीकर्ताले पूँजीबजारको दयनीय अवस्थाबारे ध्यानाकर्षण गर्दै सुधारका लागि विभिन्न माग राखेका छन्। लगानीकर्ताले नेप्सेले लागू गरेको अन्तिम १५ मिनेटको औसत भार गणना गर्ने विधि पारदर्शी नभएको भन्दै यसको तत्काल समीक्षा गरी निष्क्रिय पार्नुपर्ने बताएका छन्। यस विधिमा समस्या आउने गरेको र लगानीकर्ताले यसमा विश्वास नदेखिएको उल्लेख गरिएको छ।
त्यस्तै, सूचीकृत कम्पनीहरूको संस्थापक र सर्वसाधारणको सेयर रेसियोमा समानता ल्याउनुपर्ने माग गरिएको छ। बैंक तथा वित्तीय संस्थाको समानतामा हाइड्रोपावर र अन्य क्षेत्रमा पनि संस्थापकहरूको सेयर होल्डिङमा एकरूपता ल्याउनुपर्ने उल्लेख गरिएको छ। त्यसैगरी, कम्पनीहरूले घोषणा गरेको पे ब्याक अवधिमा संस्थापकहरूले संस्थापक सेयर नबेच्ने व्यवस्था लागू गर्नुपर्ने माग राखिएको छ। यसका साथै राइट सेयर जारी गर्ने व्यवस्थामा तत्काल रोक लगाई कम्पनीहरूको डिभिडेन्ड क्यापसिटी र ग्रोथका आधारमा मात्रै राइट सेयर दिने व्यवस्था गरिनुपर्ने माग गरिएको छ।
त्यस्तै, मर्चेन्ट बैंक र क्यापिटलहरूले प्री–आईपीओ प्रिमियमको नाममा अनाधिकृत रुपमा पैसा उठाइरहेको बताउँदै यस प्रक्रिया तुरुन्त रोक्नुपर्ने माग गरिएको छ। साथै, अवैधानिक सेयर कारोबारलाई रोक्नको लागि कडा कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिइएको छ। त्यसैगरी, सूचीकृत कम्पनीहरूको संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कम्पनीले आफ्नो वेबसाइटमा अडिट रिपोर्ट र अन्य व्यवस्थापन जानकारी प्रकाशित गर्नुपर्ने माग गरिएको छ। त्यस्तै, क्रेडिट रेटिङ गर्ने संस्थाहरूको कार्यक्षमता र पारदर्शिता सुनिश्चित गर्नको लागि अनुगमन गर्नुपर्ने माग गरिएको छ। यी सबै सुधारहरू नगरेमा लगानीकर्ताले सडक संघर्षमा जाने चेतावनी दिएका छन्।



