ईदी हाइड्रोपावरको प्रथम वार्षिक साधारणसभा असोज ३० गते हुने
Author
NEPSE TRADING

ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा यही असोज ३० गते (सन् २०२५ अक्टोबर १६, बिहीबार) आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको असोज ४ गते बसेको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो।
सभा पोखरा, कास्कीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुने जनाएको छ।
छलफलका एजेन्डा
सभामा सामान्य र विशेष प्रस्तावहरू पेस गरिनेछन्।
सामान्य प्रस्तावहरूमा—
आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,
लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने,
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने,
सञ्चालक समितिको निर्णयहरू अनुमोदन गर्ने,
सञ्चालक भत्ता, सुविधा तथा निर्वाचनसम्बन्धी प्रस्तावमा छलफल हुनेछन्।
विशेष प्रस्तावहरूमा—
अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने,
कम्पनीको नाम परिवर्तन गर्ने तथा सम्पर्क कार्यालय खोल्ने,
संस्थापक शेयरधनीका रुपमा रणनीतिक साझेदार भित्र्याउने,
प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्ने,
नियामक निकायको निर्देशनअनुसार प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू रहेका छन्।
कम्पनी ऐन, २०६३ को दफा ६७ (२) अनुसार प्रकाशन गरिएको यस सूचनाले सम्पूर्ण शेयरधनीलाई साधारणसभामा उपस्थित भई निर्णय प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ।



