हिमालयन डिस्टिलरी र सिद्धार्थ बैंकको आज साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने तयारी
Author
NEPSE TRADING

कार्तिक ३० गते, काठमाडौं — दुई महत्वपूर्ण सूचीकृत कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड आज आफ्नो वार्षिक साधारण सभा बसाउँदै छन्। दुवै कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव अनुमोदन गर्नुपर्ने भएकाले सो बैठकलाई लगानीकर्ताले विशेष महत्व दिएका छन्।
हिमालयन डिस्टिलरीको २५औँ साधारण सभा
हिमालयन डिस्टिलरीको २५औँ वार्षिक साधारण सभा आज बिहान १० बजे लिपनिविर्ता, विरगञ्जस्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा सुरु हुनेछ। कंपनीले चालु वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरणलगायतका वित्तीय कागजात अनुमोदन गर्ने एजेन्डा रहेको कम्पनीले जनाएको छ। आगामी वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सोही सभाबाट पारित गरिनेछ।
कम्पनीले कात्तिक २० गते बुकक्लोज गरी लाभांशका लागि योग्यता तोकेको थियो। त्यसअनुसार कात्तिक १९ गतेसम्म नाम दर्ता भएका सेयरधनी मात्रै प्रस्तावित बोनस तथा नगद लाभांशका हकदार हुनेछन्।
सिद्धार्थ बैंकको साधारण सभा आजै
सिद्धार्थ बैंक लिमिटेडले पनि आजै वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभा बिहान १० बजे भद्रकालीस्थित आर्मी अफिसर्स क्लब, काठमाडौंमा सुरु हुने बैंकले जनाएको छ।
बैंकले यस वर्ष ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव AGM मा पेश गर्नेछ। साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार दिनेसहितका एजेन्डा पनि सभामा छन्।
नयाँ सञ्चालक नियुक्ति, सामाजिक उत्तरदायित्व (CSR) शीर्षकमा भएको खर्च स्वीकृत गर्ने तथा आगामी वर्षका लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्ताव पनि बैठकमा छलफल हुनेछ।
सिद्धार्थ बैंकले कात्तिक १७ गते बुकक्लोज गरिसकेको छ। त्यसअनुसार कात्तिक १६ गतेसम्म सेयर नाम दर्ता गराएका लगानीकर्ता AGM तथा लाभांश प्राप्तिको हकदार ठहरिनेछन्।



