·

ग्रामीण विकास र समाज लघुवित्त एकीकृत, कार्तिक २ गतेदेखि संयुक्त कारोबार सुरु हुने

Author

NEPSE TRADING

ग्रामीण विकास र समाज लघुवित्त एकीकृत, कार्तिक २ गतेदेखि संयुक्त कारोबार सुरु हुने

काठमाडौं, असोज २८ — ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएर संयुक्त रूपमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कार्तिक २ गते (तदनुसार १९ अक्टोबर २०२५) देखि एकीकृत वित्तीय कारोबार सुरु गर्ने भएका छन्।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त दुवै संस्थाले छुट्टाछुट्टै वार्षिक साधारणसभाबाट विशेष प्रस्ताव पारित गरी गाभ्ने–गाभिने प्रक्रिया अघि बढाएका थिए। उक्त प्रक्रिया नेपाल राष्ट्र बैंकबाट असोज २३ गते अन्तिम स्वीकृति प्राप्त भएपछि सम्पन्न भएको हो।

नेपाल सरकारको कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज २६ गते मर्जर स्वीकृति प्राप्त भएपछि समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पूर्ण सम्पत्ति र दायित्व ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा मिलान गरिएको छ। अबदेखि संयुक्त कारोबार ग्रामीण विकास लघुवित्तकै नामबाट सञ्चालन हुनेछ।

गाभिएपछि संयुक्त संस्थाको प्रधान कार्यालय बुटवल उपमहानगरपालिका–१०, रुपन्देहीमा रहनेछ। साथै, कार्तिक १ गते (अक्टोबर १८) का दिन दुवै संस्थाको सम्पूर्ण बैंकिङ कारोबार डेटा माइग्रेशन (Data Migration) कार्यका कारण बन्द रहने र कार्तिक २ गतेबाट मात्रै कारोबार सुरु हुने जनाइएको छ। यसबाट ग्राहक सदस्यलाई असुविधा हुन सक्ने भएकाले संस्थाले क्षमायाचना समेत गरेको छ।

यसबाहेक, मर्जरपछि शेयर लगत एकीकरण र पुनःसूचीकरण कार्य सम्पन्न नभएसम्मका लागि शेयर कारोबार कार्तिक १ गतेदेखि अस्थायी रूपमा बन्द रहने पनि सूचनामा उल्लेख गरिएको छ।

Related News