किन बढ्यो होला सुनको मूल्य ? केके छन् कारण ?
Author
NEPSE TRADING

नेपालमा सुन र चाँदी दुवैको मूल्य मंगलबार ऐतिहासिक उचाइमा पुगेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला तीन हजार ९०० रुपैयाँले बढेर २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य २ लाख १७ हजार ८०० रुपैयाँमा सीमित थियो।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले वृद्धि हुँदै २ हजार ६८० रुपैयाँमा पुगेको छ। सोमबारको बजारमा चाँदी २ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। लगातार तीन दिनदेखि चाँदीले समेत रेकर्ड तोडेको महासंघले जनाएको छ।
मूल्य बढ्नुका कारण
विशेषज्ञहरूका अनुसार सुनको मूल्य वृद्धिको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता हो। अमेरिका–चीन व्यापार द्वन्द्व, युरोपेली बजारमा महँगी, मध्यपूर्वमा युद्धजस्ता घटनाले लगानीकर्तालाई सुरक्षित आश्रयतर्फ धकेलेका छन्। सुनलाई ‘सेफ हेवन’ मानिने भएकाले विश्वव्यापी संकटको बेला यसको माग उच्च हुन्छ।
त्यस्तै, नेपालले आयात गर्ने सुन अमेरिकी डलरमै भुक्तानी गर्नुपर्ने भएकाले डलर बलियो हुँदा रुपैयाँ कमजोर बन्छ। यसले नेपालभित्र सुनको मूल्यमा सीधा प्रभाव पार्छ। हाल वर्षौंदेखि रुपैयाँ अवमूल्यन हुँदै आएकोले सुनको आयात मूल्य निरन्तर महँगो भएको छ।
महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार, शेयर बजार अस्थिर रहँदा र बैंकको ब्याजदर आकर्षक नदेखिँदा, सर्वसाधारणदेखि व्यवसायीहरूसम्म सुनलाई सुरक्षित लगानीको विकल्पका रूपमा रोजिरहेका छन्। यसले भित्री बजारमै माग बढाएको र मूल्य वृद्धिलाई थप गति दिएको छ।



