पूर्वबैंकर नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन
Author
NEPSE TRADING

पूर्वबैंकर नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। मानन्धरको आजै काठमाडौंस्थित शोभाभगवतीमा अन्त्येष्टि गरिने परिवारले जानकारी गराएको छ।
नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व मानन्धरले प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (CEO) का रूपमा काम गरेपछि बैंकिङ करियरबाट अवकाश लिएका थिए। प्राइम बैंक स्थापना हुनुअघि उनले देशका विभिन्न वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर लामो समय नेतृत्व प्रदान गरेका थिए। साथै, उनले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (FAO) मा परामर्शदाताको रूपमा पनि सेवा गरेका थिए।
देशको २१औं वाणिज्य बैंकका रूपमा स्थापना भएको प्राइम कमर्सियल बैंकलाई छोटो समयमै प्रतिस्पर्धी बैंकहरूबीच उल्लेखनीय स्थानमा पुर्याउन मानन्धरको भूमिका महत्वपूर्ण मानिन्छ। इमानदार, कर्तव्यनिष्ठ, विशिष्ट व्यवस्थापकीय क्षमता र दूरदृष्टिका कारण उनी नेपाली बैंकिङ क्षेत्रमा सम्मानित व्यक्तित्वका रूपमा परिचित थिए।
बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि मानन्धरले युवक माध्यमिक विद्यालय र युथ क्याम्पसमा अध्यापन गरेर शैक्षिक क्षेत्रमा पनि योगदान गरेका थिए। उनले धानचामल गोदाम व्यवस्थापन कम्पनीका महाप्रबन्धक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा उच्च व्यवस्थापनका पदहरू सम्हालेका थिए। त्यसपछि उनले नेपाल बंगलादेश बैंक र लुम्बिनी बैंकमा कार्यकारी प्रमुख भएर पनि नेतृत्व प्रदान गरेका थिए।
मानन्धरले लामो समयसम्म नेपाली बैंकिङ क्षेत्रको विकास, पारदर्शिता र व्यावसायिकतामा उल्लेखनीय योगदान पुर्याएको मानिन्छ। उनी श्रीमती, एक छोरा र तीन छोरीसहितको परिवारमा थिए।



