·

मल र अन्नमा आयात निर्भरता, तर मसला र चियामा निर्यातको सम्भावना

Author

NEPSE TRADING

मल र अन्नमा आयात निर्भरता, तर मसला र चियामा निर्यातको सम्भावना

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले ठूलो परिमाणमा रासायनिक मल र अन्नजन्य वस्तु आयात गरेको छ। भन्सार विभागका अनुसार यस अवधिमा मात्र १६ अर्ब १७ करोड रुपैयाँको मल र ८ अर्ब ७९ करोड रुपैयाँ बराबरको अन्न बाहिरिनु परेको छ। कृषि प्रधान अर्थतन्त्र भनिए पनि नेपाल अझै खाद्य उत्पादनका आधारभूत साधनमा पूर्णरूपमा आत्मनिर्भर बन्न सकेको छैन।

अर्कोतर्फ, नेपालले कृषि उत्पादनकै केही वस्तुमा भने उल्लेख्य निर्यात सम्भावना देखाएको छ। सोही अवधिमा १८ अर्ब ९४ करोड रुपैयाँ बराबरको चिया, कफी र मसला निर्यात भएको छ। इलामको चिया, स्याङ्जा र पाल्पाको कफी, साथै अदुवा र इलाइची जस्ता मसलाहरू अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै गएका छन्।

विज्ञहरूको भनाइमा, एकातिर मल र अन्नमा बढ्दो आयात निर्भरता नेपालको खाद्य सुरक्षाका लागि चुनौती बनेको छ भने अर्कोतिर मसला र चियाले निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने अवसर देखाएको छ।

उनिहरूले कृषि नीति पुनःसंरचना गर्दै उत्पादन–प्रसंस्करण–ब्रान्डिङमा लगानी बढाउनुपर्ने सुझाव दिएका छन्। यदि सरकारले मल र अन्न उत्पादनमा आत्मनिर्भरता बढाउनेतर्फ ध्यान दिन सक्यो र चिया–मसला निर्यातलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सके, नेपालको व्यापार घाटा घटाउन सहयोग पुग्ने बताइन्छ।

Related News