·

दाउन्ने एग्रो फार्मको वार्षिक अण्डा उत्पादन ११ करोड नाघ्यो, आईपीओ प्रक्रियामा प्रवेश

Author

NEPSE trading

दाउन्ने एग्रो फार्मको वार्षिक अण्डा उत्पादन ११ करोड नाघ्यो, आईपीओ प्रक्रियामा प्रवेश

आईपीओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले गत आर्थिक वर्षमा रु ११ करोड ११ लाख ४२ हजार मूल्यबराबरको अण्डा उत्पादन गरेको छ। कम्पनीले एक वर्षमा पाँच लाख २९ हजार २५० पेटी अण्डा उत्पादन गरी बिक्री गरेको हो। कम्पनीका अध्यक्ष विनोद पोखरेलका अनुसार हाल दैनिक एक हजार ४५० पेटी अण्डा उत्पादन हुँदै आएको छ।

नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व) विनयी त्रिवेणी गाउँपालिका–३ सर्दीस्थित करिब ११ बिघा क्षेत्रफलमा फैलिएको फार्ममा कम्पनीले कुखुरापालन गर्दै आएको छ। हाल फार्ममा चार लाख कुखुरा रहेका छन् भने निकट भविष्यमा यस संख्या छ लाख पुर्‍याउने लक्ष्य लिइएको छ।

गत आर्थिक वर्षमा कम्पनीले रु ८ करोड १५ लाख ९० हजार नाफा आर्जन गरेको छ। प्रति शेयर आम्दानी (EPS) १८.३७ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३.६४ रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको नाफा रु २ करोड ६३ लाख मात्र थियो। त्यतिबेला कम्पनीको चुक्ता पूँजी रु २७ करोड रहेकोमा गत वर्ष बढेर रु ५० करोड पुगेको छ।

कम्पनीको साधारणसभाले २०८१/८२ को आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। साथै विशेष प्रस्तावअन्तर्गत आईपीओ जारी गर्न आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा भइसकेको र त्यससम्बन्धी प्रस्ताव अनुमोदन गरिएको छ।

साधारणसभामा संस्थापक अध्यक्ष रघुनाथ भट्ट, सञ्चालक हेमराज बडाल, डा. अनन्त दाहाल, डा. आशिष पोखरेल, वित्तीय सल्लाहकार ऋषिराम चालिसे, आध्यान्त फण्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेल र शेयरधनी प्रतिनिधि माधवप्रसाद अर्यालले धारणा राखेका थिए। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत विजयप्रसाद पौडेल र कम्पनी सचिव सुरेन्द्रनाथ रेग्मीले आर्थिक प्रतिवेदन तथा कम्पनीको अवस्था बारे जानकारी दिएका थिए।

साधारणसभाको अवसरमा संस्थापक अध्यक्ष रघुनाथ भट्ट, पूर्व सञ्चालक द्रोणप्रसाद लामिछाने र हिमालय पौडेललाई सम्मान गरिएको थियो।

Related News