सिटी होटल लिमिटेडको अधिकारपछि बाँकी रहेका सेयरको लिलामी बोली खोलियो; कट-अफ रेट कति पर्यो?
Author
NEPSE TRADING

सिटी होटल लिमिटेड (CITY) ले अधिकार पश्चात बाँकी रहेका सञ्चालक, कर्मचारी तथा सर्वसाधारण सेयरहरूको लिलामीका लागि प्राप्त भएका बोलिहरू मंसिर ५ गते, २०८२ खोलिएको छ। लिलामी व्यवस्थापकका रूपमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको थियो। बोलकबोल प्रक्रिया बिहान ९ बजेबाट प्रभु क्यापिटल, कमलादी, काठमाडौंको कार्यालयमा सञ्चालन गरिएको थियो।
यसअघि लिलामी कात्तिक २३ देखि कात्तिक ३० गतेसम्म खुला गरिएको थियो। लिलामीमा १९,८०,९९९ कित्ता सञ्चालक (lock-in) सेयर, ६,००० कित्ता कर्मचारी (lock-in) सेयर (दुवै जेठ ४, २०८३ सम्म लक–इन) तथा १,५४,४१९ कित्ता सर्वसाधारणले नलिएर बाँकी रहेका सेयरहरू समावेश थिए। इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरूलाई बोलकबोलमा सहभागी हुने अनुमति थियो।
उक्त लिलामी अधिकार (rights issue) पश्चात बाँकी रहेको भाग हो। कम्पनीले यसअघि १:०.८० अनुपातमा अधिकार सेयर २०७९ भदौ २३ देखि असोज २६ सम्म निष्काशन गरेको थियो।
लिलामीका लागि न्यूनतम बोली दर रु १०० तोकिएको थियो। न्यूनतम बोली संख्या १०० कित्ता भए पनि अधिकतम सीमा तोकिएको थिएन। सहभागीले सम्पूर्ण उपलब्ध सेयरको लागि समेत बोली दिन सक्थे, तर नियामक प्रावधानअनुसार एउटै संस्था वा व्यक्तिले अनुमति भन्दा बढी सेयर लिन नपाउने नियम लागू थियो।
प्रभु क्यापिटलका अनुसार प्रारम्भिक (tentative) कट-अफ मूल्य यसप्रकार छन्:
सञ्चालक (Promoter) Lock-in Shares: रु २७६
कर्मचारी Lock-in Shares: रु ३१२.५०
सर्वसाधारण Ordinary Right Shares: रु ४६७
यद्यपि, सबै अभिलेख मिलान तथा आवश्यक प्रक्रिया पूरा भएपछि कट-अफ दरमा परिवर्तन हुन सक्ने प्रभु क्यापिटलले जनाएको छ।



