·

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Author

NEPSE TRADING

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज मंसिर २२ गतेदेखि आफ्ना सेयरहरूको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले नेपाल सरकारका सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरिएकाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्काशन गर्ने प्रक्रिया सुरू गरेको हो।

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत, अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर आवेदनका लागि उपलब्ध गराएको छ। कम्पनीको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बोलकबोल प्रक्रियाबाट निर्धारण गरिएको ८२० रुपैयाँ ८० पैसा मा लगानीकर्ताले आवेदन दिनुपर्नेछ।

यसअघि बोलकबोल प्रणालीमार्फत योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिइएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएको हो।

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्ता तथा अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन अवधि छिटोमा मंसिर २५ गते बन्द हुनेछ, तर सो अवधिसम्म पूर्ण आवेदन नपरेमा अवधि पुस ७ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू वा ‘मेरो शेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

शेयर निष्काशनका लागि प्राप्त रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई CARE NP Single A– (Issuer Rating) प्रदान गरेको छ। यसले कम्पनीले आफ्नो वित्तीय दायित्व सुरक्षित रूपमा बहन गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्छ।

रोजगारका हिसाबले पनि रिलायन्स स्पिनिङ मिल नेपालका सबैभन्दा ठूलो धागो उत्पादन उद्योगहरूमध्ये एक हो। कम्पनीले आफ्ना उत्पादनमध्ये ७०–७५ प्रतिशत धागो भारत, टर्की, भियतनाम, यूके लगायतका मुलुकहरूमा निर्यात गर्दै आएको छ। कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण तथा प्रबन्ध सञ्चालक अक्षय गोल्याण रहेका छन्।

कम्पनीको मुख्य उद्योग ईटहरी नगरपालिका–१२, खनार, सुनसरीमा र शाखा उद्योग ईटहरी नगरपालिका–४, दुहाबी, सुनसरीमा अवस्थित छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष तथा डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको जनाएको छ।

Related News