अपि पावर कम्पनीले मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि ट्रोयर एजीसँग सम्झौता गर्यो
Author
NEPSE TRADING

अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत् उत्पादन क्षमता विस्तार गर्ने रणनीतिक योजनाअन्तर्गत ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको सम्झौता गरेको छ। लमजुङ जिल्लाको बेसीसहर नगरपालिका स्थित यो आयोजना देशको आगामी ठूला जलविद्युत् परियोजनामध्ये एक मानिएको छ।
उक्त सम्झौताअनुसार, ट्रोयर एजी, इटालीलाई उपकरण आपूर्ति र जडान कार्यको जिम्मेवारी दिइएको छ। सम्झौतामा ह्यान्सपिटर स्कोल्झोर्न, प्रमुख बिक्री विभाग प्रमुख (ट्रोयर एजी, इटाली), पवन ढकाल, अध्यक्ष (ट्रोयर हाइड्रो प्रा.लि., भारत) र सतीश न्यौपाने, अध्यक्ष (दिव्य ज्योति हाइड्रोपावर लिमिटेड) ले हस्ताक्षर गरेका छन्।
ट्रोयरका अनुसार, मर्स्याङ्दी बेसी आयोजना नेपालमा जडान हुने सबैभन्दा ठूलो फ्रान्सिस टरबाइन मध्ये एक हुनेछ। यसअघि ट्रोयरले सुपर चेपे (९.०५ मेगावाट) र ठूलो खोला (२१.३ मेगावाट) आयोजना सफलतापूर्वक सञ्चालनमा ल्याइसकेको छ। यस्तै मेवा खोला (५० मेगावाट), सेती खोला (२२ मेगावाट) र स्यार्पु खोला (३.३ मेगावाट) आयोजना अन्तिम जडान र परीक्षणको चरणमा छन्।
त्यस्तै, ट्रोयरले न्यासिम खोला (३८.५ मेगावाट), अपर खुडी (२६ मेगावाट), सभाखोला बी (३२.२५ मेगावाट), लुजा खोला (२४.९८ मेगावाट), अपर म्याग्दी (४६.२५ मेगावाट), अपर म्याग्दी–१ (५३.५ मेगावाट) र दूधपोखरी चेपे (११ मेगावाट) आयोजना डिजाइन तथा निर्माणका विभिन्न चरणमा रहेको जनाएको छ।
नेपालमा दीर्घकालीन प्राविधिक सेवा र सहयोग सुदृढ गर्न ट्रोयरले काठमाडौंमा वेयरहाउस स्थापना गरी स्थानीय प्राविधिक टोली गठन गरेको छ, जसले ग्राहकलाई मर्मत–सम्भार र आपतकालीन सेवामा सहयोग पुर्याउनेछ।
सम्झौताअनुसार, ट्रोयर एजीले आगामी दुई वर्षभित्र उपकरण आपूर्ति, जडान तथा परीक्षण कार्य सम्पन्न गरी आयोजना विद्युत् उत्पादनका लागि तयार बनाउनेछ।
करिब १० अर्ब रुपैयाँ लगानी हुने यस आयोजनामा ३० प्रतिशत इक्विटी लगानी प्रवर्द्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट जुटाइनेछ। आयोजना दुई वर्ष र छ महिनाभित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य राखिएको छ।
उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको उदिपुर सबस्टेशनमा जोडिनेछ, जसले राष्ट्रिय ग्रिडमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
यसअघि अपि पावर कम्पनीले दिव्य ज्योति हाइड्रोपावर लिमिटेड (मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी) का सम्पूर्ण सेयर खरिद गर्ने निर्णय गरेको थियो। आर्थिक र प्राविधिक मूल्यांकनपछि उपयुक्त ठहरिएकाले अब उक्त कम्पनीको स्वामित्व तथा व्यवस्थापन अपि पावर कम्पनी लिमिटेडको बहुमत स्वामित्वमा रहनेछ।



