·

४८६ वटा ईभी दुई महिनामै आयात, कोरला नाका हुँदै बढ्दै गाडी भित्रिने

Author

NEPSE TRADING

४८६ वटा ईभी दुई महिनामै आयात, कोरला नाका हुँदै बढ्दै गाडी भित्रिने

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ) मा नेपालले ४८६ वटा विद्युतिय सवारी साधन (कार, जीप र भ्यान) आयात गरेको छ। भन्सार विभागका अनुसार १ अर्ब २७ करोड ८४ लाख रुपैयाँ बराबरको ईभी आयात हुँदा करिब ८० करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

मुलुक अनुसार आयात

यस अवधिमा सबैभन्दा धेरै २४० वटा ईभी चीनबाट भित्रिएका छन्। भारतबाट २०७ वटा, थाइल्याण्डबाट ३४ वटा, अमेरिकाबाट ३ वटा र दक्षिण कोरियाबाट २ वटा ईभी नेपाल आयात भएका छन्।

क्षमताका आधारमा आयात

भन्सार तथ्यांकअनुसार ५१ देखि १०० किलोवाट क्षमताका ईभी सबैभन्दा धेरै भित्रिएका छन्। यस श्रेणीमा मात्रै ३७८ वटा गाडी आयात भएका छन्। त्यस्तै ५० किलोवाटसम्मका ७३ वटा, १०१ देखि २०० किलोवाटसम्मका ३४ वटा र २०१–३०० किलोवाट क्षमताको १ वटा ईभी नेपाल भित्रिएको छ।

उत्तरी नाका प्रभावित, कोरला विकल्प

चीनतर्फका मुख्य नाकाहरू बाढी पहिरोका कारण प्रभावित भएका छन्। रसुवा तर्फको भोटेकोशी नाका गत असार २३ गतेको बाढीले अवरुद्ध भएको छ भने तातोपानी नाका पनि बेला–बेला बन्द हुने गरेको छ। यसले गर्दा साउनमा अर्डर भएका धेरै गाडी नेपाल प्रवेश गर्न सकेनन्।

यसबीचमा सरकारले मुस्ताङको कोरला नाका पूर्णरुपमा सञ्चालनमा ल्याएको छ। भदौ महिनामै करिब १०० वटा ईभी कोरला हुँदै नेपाल भित्रिएका छन्। सो नाकाबाट अझै करिब १,००० वटा ईभी आयात गर्ने तयारी कम्पनीहरूले गरेका छन्। हालसम्म सो बाटो हुँदै बीवाईडी, ओमोडा एण्ड जेइको र लिपमोटर ब्रान्डका ईभी नेपाल आएका छन्।

Related News