·
सरकारले विकास ऋणपत्रमार्फत ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने
Author
NEPSE TRADING

सरकारले ६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले विकास ऋणपत्र २०८७ नामक ऋणपत्रमार्फत बोलकबोल प्रणालीबाट पाँच वर्ष अवधिका लागि उक्त रकम संकलन गर्न लागेको हो। यस ऋणपत्रको बोलकबोल प्रक्रिया फागुन २६ गते सञ्चालन गरिनेछ भने निष्कासन फागुन २७ गते हुनेछ।यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरूले समेत बोलकबोलमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। उक्त ऋणपत्रलाई धितो राखेर कर्जा लिन तथा दिन पनि सकिनेछ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ। बोलवालाहरूले प्रस्ताव गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रमअनुसार मिलाएर बाँडफाँट गरिनेछ र स्वीकृत भएको ब्याजदर तथा सोभन्दा कम दरमा बोलकबोल गर्ने सबैलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने व्यवस्था गरिएको छ।




