·

‘डबल आइजिन’ प्रणालीले पुँजी बजार विकृत बनायो : कमलेश अग्रवाल

Author

NEPSE TRADING

‘डबल आइजिन’ प्रणालीले पुँजी बजार विकृत बनायो : कमलेश अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल ले नेपालको पुँजी बजारमा विद्यमान ‘डबल आइजिन’ प्रणालीका कारण बजार अविश्वसनीय र विकृत बन्दै गएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्स को तर्फबाट बोल्दै उनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार एउटै कम्पनीको शेयरको एउटै आइजिन हुनुपर्नेमा जोड दिए। सीडीएस एण्ड क्लियरिङ लिमिटेड द्वारा आयोजित ‘धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका, २०८२’ सम्बन्धी छलफल कार्यक्रममा उनले विगतमा बैंक, बीमा तथा वित्तीय संस्थाका संस्थापक र सर्वसाधारण शेयरका लागि छुट्टाछुट्टै आइजिन दिइएकै कारण अहिले समस्या उत्पन्न भएको बताए।

अग्रवालका अनुसार एउटै कम्पनीको शेयरमा दुईवटा मूल्य (ड्यूअल प्राइस) हुनु बजारमा अनुमानित कारोबार (स्पेकुलेसन) बढ्नुको प्रमुख कारण हो। यसले तरलता घटाउने, बजारलाई विभाजित गर्ने र वास्तविक मूल्य निर्धारणमा असर गर्ने उनको भनाइ छ। साथै, फरक–फरक आइजिनका आधारमा सूचकांक गणना गर्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांकले वास्तविक बजार अवस्था प्रतिबिम्बित गर्न नसक्ने उनले बताए।

संस्थापक शेयरमा रहेको तीन वर्षे ‘लकइन पिरियड’ ले पनि बजारमा शेयर आपूर्ति संकुचित पारेको उनको धारणा छ। उनले २० प्रतिशतसम्मको सीमा कायम गरी बाँकी शेयर खुला गरिएमा आपूर्ति सन्तुलन हुने र मूल्यमा अस्वाभाविक उतारचढाव कम हुने सुझाव दिए। भारतमा ठूला लगानीकर्ताले सफल परियोजनाबाट नाफा लिएर नयाँ उद्योगमा लगानी गर्ने उदाहरण दिँदै नेपालमा पनि यस्तै वातावरण निर्माण गर्नुपर्ने उनले बताए।

अग्रवालले नेपाल धितोपत्र बोर्ड (सेबन), नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएससी जस्ता नियामक निकाय सुदृढ नहुनु बजार विकृतिको प्रमुख कारण भएको टिप्पणी गरे। पुँजी बजारलाई आर्थिक वृद्धिको मेरुदण्ड भन्दै उनले यसलाई पारदर्शी, प्रभावकारी र प्रतिफलमा आधारित बनाउँदै दिगो विकासतर्फ लैजानुपर्नेमा जोड दिए।

Related News